नेपाल प्रहरीमा ठुलो सङ्ख्या भर्ना खुल्यो, कुन पदमा कति ?

Posted on: 09 Feb, 2024

माघ २६, काठमाडौं | नेपाल प्रहरीले ठुलो सङ्ख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समुहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । 

खुला तथा समावेशीसहित प्रहरी जवान पदका एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । त्यसैगरी भान्छेका लागि ६३, हजाम ७जना, कुचिकार २० जना र खेलाडी १४ जनाका लागि पनि आवेदन आव्हान भएको छ । 

खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने छ ।

प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो ।

दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ । जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त बुझाउन सकिन्छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!