अछाम, नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा रहेको एक पहाडी जिल्ला हो। १६८० वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो। हाल सेवामा नरहेको साँफेबगर विमानस्थल, सदरमुकाम मंगलसेनबाट आठ घण्टा पैदल दुरीमा पर्दछ।
जिल्लाको नामाकरण
अछाम नामाकरण सम्वन्धमा विभिन्न आधारहरू पाइन्छन्। यी मध्ये केही आधारहरू निम्न अनुसार छन।
अछाम नामाकरणका सम्वन्धमा अछामी राजाको प्रारम्भिक राजधानी सेरा वुढी धर्पुलाई लिइन्छ। सेरा वुढी धर्पूवाट केही तल पास्तोली गाडवाट खसेका तीन वटा छहरामध्ये एउटा अलि ठूलो र कहाली लाग्दो खालको छ। ती तीनवटा छहराहरू बन्नको लागि माथिको जुन मुहानवाट पानी आउँछ त्यसलाई प्राचिन कालमा अस्माम्वु भनिन्थ्यो। उक्त स्थानमा प्रत्येक वर्ष माघे संक्रान्तिमा ठूलो मेला लाग्दछ। त्यही अस्मावु शव्दवाट अपभ्रंस भई अस्माम्व-अछाम्म र अछाम भयो भनि एउटा मत निर्माण भएको पाइन्छ।
डोटी जिल्लाको ब्राह्मण खानदानका गोपाल खतिवडाभट्ट भनिने का चार जना भाइ छोराहरू थिए। कान्छा छोरा प्रभाषका छोरा देवेन्द्र सँग प्रसिद्ध जुम्ली राजा अशोक मल्लकी छोरी हर्मता मैयासँग प्रेम विवाह भई केही वर्ष उनी जुम्ला बसे।पछि नौखुवा राज्यपाई नौखुवामै शासन गर्न थाले उनीवाट जन्मेका छोरा राजा हुने र शाह पदवी समेत पाउने संस्कार बसी अचम्म भएकाले उक्त अचम्म शव्द कालान्तरमा अपभ्रंश हुदै अछाम कहलिन थालियो।
प्राचिन कालमा तत्कालिन मुगल सम्राज्यको चर्का दमन सहन नसकी केही भारतीय हिन्दुहरू नेपाल पस्न बाध्य भए। घुम्दै हिंड्ने क्रममा तिनीहरू नेपालको पश्चिमी क्षेत्रको नौखुवा - वर्तमान अछाम पुगे। त्यस ताका नौखुवा क्षेत्र प्रशस्त मिठो आँप पाईने क्षेत्रको रूपमा परिचित थियो। अनुकुल हावापानी र प्रशस्त मिठो आँप पाईने भएको कारण भारतीयहरू नौखुवामैं बसोवास गर्न थाले। हिन्दी भाषामा मिठो आँपलाई अच्छा आँप भनिने हुँदा उक्त शब्द पछि अपभ्रंश हुँदै अछाम कहलिन थाल्यो।
जिल्लाको इतिहास
प्राचीनतम नेपालको इतिहास सँगसँगै अछाम जिल्लाको इतिहास पनि जोडिएको छ। नेपालको सुदुरपश्चिम विकास क्षेत्र अन्तर्गत सेती अंचलमा पहाडी जिल्लाको रूपमा रहेको अछाम जिल्लको ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोणले धेरै ठूलो महत्व रहेको छ। प्राचीन कालमा हालको अछामलाई "नौखुवा"को नामले चिनिन्थ्यो। नौखुवाको अर्थ नौ वटा खण्डहरू भन्ने वुझिन्छ। त्यस समयमा अछामलाई विभिन्न नौ वटा खण्डहरूमा विभाजन गरी स-साना राज्यहरू संचालनमा रहेका थिए। नेपालको एकिकरणको समयमा अछाम बाईसी राज्य समुहको एउटा एकाई सदस्यको रूपमा रहेको थियो। कर्णाली प्रदेशमा नागराजवंशीय मल्लहरूले शासन गर्नुपूर्व अछाममा पालहरूले शासन गरेका थिए। त्यसपछि मल्लहरूको शासनकालमा अछाममा सभ्यताको विकास भयो। तत् पश्चात उनीहरूको शक्ति कम हुदै जादा कर्णाली र गण्डकी प्रदेशमा स-साना राज्यहरूको उदय हुने क्रममा अछाम पनि स्वतन्त्र हिन्दू राज्यको रूपमा स्थापना भएको थियो। अछाम क्षेत्र मध्य कालमा बिकसित भएको खस सभ्यताको उद्गम स्थलको रूपमा रहेको थियो।
राणा कालमा अछामको कैलाश नदी पूर्वको भू-भाग दैलेख जिल्ला र पश्चिम तिरको भू-भाग डोटी जिल्ला अन्तर्गत रहेको थियो। त्यस समयमा अछाम डोटीमा खाद्यान्न आपुर्तिको प्रमुख केन्द्रको रूपमा रही आएको थियो। बि.स. २०१४ सालमा अछामका दुवै भाग मिलाएर डोटी अन्तर्गत राखिएको थियो। पछि जब वि.सं. २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो अछाम पनि छुट्टै जिल्लाको रूपमा अस्तित्वमा आएको थियो। त्यस बखत अछालाई ३९ वटा गाउँ पञ्चायतमा विभाजित गरिएकोमा हाल अछामलाई ७५ वटा गा.वि.स. हरूमा विभाजित गरिएको छ।
अछामी राजाको मुलथलो बड्ढी (बुढो) अछाम अर्थात हाल सेरा गा.वि.स.को कवालेख भन्ने ठाउँमा थियो। त्यस पछि बान्नी गढी, पुनः कवालेख र मंगलसैनमा राज्य सरेको पाइन्छ। मंगलसैनमा तत्कालीन समयमा बनेको भब्य दरवार २०५८ सालमा द्वन्दका क्रममा ने.क.पा माओवादीको आक्रमणमा ध्वस्त भई हाल अवशेष विहिन रूपमा रहेको छ।
अछामको इतिहास परापूर्व कालदेखि नै द्धन्द्ध खेप्दै आएको छ। नेपाल एकीकरण भएकै बेला वि.सं. १८४७मा नै अछाम राज्य विशाल नेपालमा गाभिए पनि १८४८को चैत्रे दशैका राती देवचन्द्र शाह (द्धितीय)ले विद्रोह गरी पुनः बान्नीगढी कब्जागरी अछाम राज्यको अस्तित्व राखेका हुन्। त्यसपछि गएर मध्ये कालमा पनि अछामले अनेक युद्ध खेपेको इतिहास छ। यही मध्यकालयुद्ध खेपेको जयगढ नामक क्षेत्रमा शान्तिको सन्देशको रूपमा रहेको महामण्डलेश्वर यशोव्रह्मद्धारा लिखित सिलालेख यहाँको पुरानो अभिलेख हो। उक्त शीलालेखमा निम्न पङ्क्तिहरू उद्घृत गरिएका छन्।
ॐ मपिद्मे हुँ। महामण्डलेश्वर
बुद्ध कुलावतार यशोव्रहमचिरंजयतु।। श्री श्वादे १२७६।।
अछाम जिल्लामा साहित्य विकासको इतिहाँस
लोक साहित्यका दृष्टिले अछाम जिल्ला सम्पन्न मानिन्छ। यहाँका प्राचीन अभिलेख प्राचीन ग्रन्थ र प्राचिन देवलहरूमा लेखिएका अभिलेखहरूले पनि यहाँको चिनारी दिन्छ। यस जिल्लाको साहित्यिक इतिहास निकै पुरानो छ। अछाम राजा श्रीभोर शाहका कान्छा छोरा बाकाबीरको अगुवाइमा सुदूरपश्चिममा विद्रोह हुँदा जंग बहादुर राणाको आदेशमा वि.सं. १९०६मा बाँकावीर (बलदेव शाही) काटिएका थिए। यिनै राजवंशका काजी खलकका सन्तति पहलमानसिंह स्वाँरले नेपाली भाषामा प्रथम दुःखान्त नाटक अटल बहादुर लेखी देश भरीमामात्र नभई साहित्यिक क्रान्ति ल्याएका थिए। यसरी मौफिक साहित्यमा मात्रनभै लिखित साहित्यको पनि प्राचीन इतिहास बोकेको अछाम जिल्ला साहित्यिक त्यसमा पनि अझ लोक साहित्यक सामग्रीका दृष्टिले अत्यन्तै सम्पन्न रहेको छ। त्यस्ता सामग्रीहरूमा अछाम जिल्लामा लोकगीत लोकगाथा लोककथा, लोकनाटक, लोकोक्ति आदि पर्छन्। जसलाई साहित्यका अमूल्य निधिमान्न सकिन्छ। यिनले नै अछाम जिल्लाको लिखित साहित्यको पूर्वाधार तयार गर्नु ठूलो सघाउ पुर्याएका छन्। यसका साथै यहाँका देउडा, रतेउडी, हुडकेनाचा, पुतला, होरी, भूओ, पञ्चेबाजा, लोकगीत तथा लोकलय आदि संस्कृतिका प्रादायक मौफिक रचनाहरूले अझ अछामको साहित्यलाई महाजल छरी मौलाउन सहयोग गरेको देखिन्छ। जुन अछाम जिल्लाको साहित्यिक योगदानकै रूपमा मानिन्छ।
भौगोलिक अवस्थिति
अक्षांश: २८.४५" उत्तर देखि २९.२३" उत्तर सम्म
देशान्तर: ८१.२" पूर्व देखि ८१.३५" पूर्व सम्म
समुद्र सतहबाट उचाई: ५४० मिटर देखि ३८२० मिटर सम्म
क्षेत्रफल: १६९२ वर्ग किलोमिटर
सिमाना: पूर्वमा कलिकोट र दैलेख जिल्ला, पश्चिम- डोटी जिल्ला, उत्तर-बाजुरार बझाङ जिल्ला र दक्षिण- दैलेख जिल्ला, सुर्खेत जिल्ला, कैलाली जिल्ला
प्रमुख व्यापारिक केन्द्र
अछाम जिल्लाको प्रायः सबै व्यापारीक केन्द्रहरूमा यातायातको सुविधा उपलब्ध छ । यहाँका व्यापारीक केन्द्रहरूमा प्रायः दैनिक उपभोग्य वस्तु तथा स्थानिय उत्पादन वस्तुहरूको खरिद बिक्री गरिन्छ । यो जिल्लाका प्रमूख व्यापारिक केन्द्रहरू निम्नानुशार रहेका छन् । :-
बासकाडा
साँफेबगर
विनायक
कमलबजार
मंगलसेन
वयलपाटा
जयगढ
ढुंगाचाल्ना
तुर्माखाँद
बुढाबगर
चौरपाटी
ठांटी
चौखुट्टे
गैरीटाँड
मुजाबगर
दर्ना
शान्तडा
जिल्लाका प्रमुख क्षेत्रहरू
अछाम जिल्ला खस राज्यकालमा विभिन्न राज्यहरूमा कहिले फुट्ने र कहिले जुट्ने हुँदै विभिन्न राजाहरूले राज्य गरेको स्थान भएकाले यहाँ थुप्रै पुरातात्विक सम्पदाको धनि रहेको छ । यसका साथै यो जिल्ला जल सम्पदा र वन सम्पदाको पनि निकै धनि रहेको छ । यो जिल्लाका प्रमूख सम्पदाहरू यस प्रकार रहेका छन् । :-
जल सम्पदाहरू
कर्णाली, सेती, बृद्धगंगा, कैलाश खोला, भानाकोट गाड, रामारोशन ताल, चाईरहोगाड, कुईका गाड, विनायकगाड, कुवालीगाड, लुंग्रेली गाड, सोकट गाड, जिज्यारी गाड, पायली गाड, छिपेखोला, चिसि खोला, तालागाड खोला, चिल्ताडागाड खोला आदि।
प्रमुख पर्यटकिय स्थलहरू तथा पुरात्वातिक समपदाहरू
धार्मीक तथा पर्यटनको दृष्ठीकोणमा छुट्टै भूमिका बोकेको अछाम जिल्लामा विभिन्न पर्यटकिय स्थलहरू र प्राकृतिक तथा पुरात्वातिक सम्पदाहरू रहेका छन्। जस मध्य केही स्थानहरू यस प्रकार रहेको छन्।
दर्नाका पञ्चदेवल
दर्नाका राजाको दरबारको पश्चिमपट्टि लामो गरामा ढुङ्गै ढुङ्गाले बनेका पञ्चदेवलहरू रहेका छन् । पञ्चदेवल नजीकै एउटा शिलालेख भेटिएको छ । तर उक्त शिलालेखमा ग्वाला गोठालाहरूले आँसी (हँसिया) उदाउने गरेकाले घिसाएर नबुझिने बनाइदिएका छन् ? तर पनि साहित्यको इतिहास लेखनमा यस शिलालेखले सहयोग नै गरेको पाइन्छ ।
विनायकका पञ्चदेवल
विनायक गा.वि.स अछामका प्रमुख स्थलमध्ये एक हो । यो धार्मिक ऐतहासिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिएको छ । यस ठाउँमा रहेका पञ्चदेवल कुनै राजा महाराजाले बनाएको नभएर राजकुमार अक्षम मल्लले शाके १२०२ सम्वत् १३३७ मा बनाएका हुन् भन्ने कुरा प्रष्ट हुन आएको छ । तेस्रो केवलका प्रवेशद्धारको तोरणशीलामा उत्कीर्ण गरिएको अभिलेखमा निम्न कुराहरू उद्घृत गरिएको छ।
ॐ स्वस्श्रिमतः अक्षयमल्ल देवस्थल सपरिवारा
चिरंजयंतु आत्मन्निभिन्ताधै एकतारसा
पुरुषा निभिनानजैराज प्रासाद करायो शाके
१२०२ सुत्रधार नागदेव नाम कमायो।
कुच्चीकोटमा रहेको अभिलेख
अछाम जिल्लाको कालिकास्थान गा.वि.स वडा नं. ८ मा रहेको नाउलो (पानी भर्ने कुवा)को भित्रपट्टी तेस्रो पारिएर राखिएको ढुङ्गामा पनि निम्नानुसारको अभिलेख पाइएको छ। (१) ऊँ मणिपदमे हु (२) श्री शोक १२७६.......महाराजधिराज पृथ्वीमल्लपश्चिरंजयतु। शुष्टेत वर्षक्ष अपूण्ये नमः वेसात्वासुधिभरभाव कृता।।
घोडासैनको शिलालेख
अछाम जिल्लाको घोडा सैन स्थित ॐ मणिपद्मे हुँ लेखिएको शिलालेखले पनि अछामको साहित्यिक लेखन तथा इतिहाँसलाई झल्काउने कार्य गरेको छ। यसरी अछाम जिल्लाको साहित्य लेखनको पृष्ठभूमि दुइको अभिलेखहरू द्धारा भएको पाइन्छ। तत्कालीन शिल्पको प्रदर्शन पनि यिनमा पाइन्छ। कतै कतै भूमिदान सम्बन्धि तामपत्र पनि पाइएको छ तर आज ती सबै सुरक्षित छैनन्। जो छन् तिनीहरूकैमाध्यमले नेपाली भाषा र साहित्यकोमात्र होइन नेपाली सांस्कृतिक र ऐतिहासिक सम्पदाको परिचय पाउन सकिन्छ। नेपाली भाषालाई वर्तमान रूपमा पुर्याउने काम गर्न यी अभिलेखहरूले सघाएका छन्।
अन्य पर्यटकिय स्थानहरू
अछाम जिल्ला माथी उल्लेखित स्थलहरूका साथै थुप्रै प्राकृतिक सम्पदाले भरिपूर्ण छ। जस्तै:- रामारोशन ताल, नेपालका चारधामहरूमा एक धाम मनिएको बैधनाथ क्षेत्र (बैजनाथ, कालिमाटि), तितौडाको लेख, साँफे बगर आदी स्थानहरूको साथै सुदूर पश्चिमको चर्चित मानिने नौ मुठे गाई पनि यसै जिल्लामा देख्न सकिन्छ ।