विमानस्थलबाट फर्काइए भिजिट भिसामा यूएई जान लागेका ३ महिला, एजेन्ट पक्राउ

Posted on: 08 Mar, 2024

फागुन २५, काठमाडौँ | भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो । त्यसक्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि फर्काइएको उनले बताए ।


एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पनि नियन्त्रणमा लिइएको शर्माले जनाए । उनीहरुले बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए ।

पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको एसएसपी शर्माले बताए ।

प्रहरीका अनुसार, भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोह नै सक्रिय छ । सजिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्न गरिएको भेटिएपछि प्रहरी जाँचमा कडाइ गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!