इलाममा ६ पालिकामध्ये ४ वटाको मत गणना सकियो, अब कति बाँकि?

Posted on: 29 Apr, 2024

बैशाख १७, काठमाडौँ | इलाम क्षेत्र नं २ का ६ पालिकामध्ये ४ वटाको मत गणना सकिएको छ । ४२ वडामध्ये अहिलेसम्म चार पालिकाका २२ वटाको गणना सकिएको हो ।

इलाममा अहिलेसम्म ३२ हजार ६३८ मत गणना भएको छ । जसमा ४४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाममा प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो ।


इलाममा अब २० वटा वडाको ३६ हजार ६४९ मत गन्न बाँकी रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

इलाममा फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माई नगरपालिकाका २२ वटा वडाको मत गणना सकिएको छ । अब देउमाई नगरपालिकाका ९ र इलाम नगरपालिकाका ११ वटा वडाको मत गणना बाँकी छ ।

अहिले देउमाई नगरपालिका वडा नम्बर १ र २ को गणना गर्ने तयारी भइरहेको छ । ३ वटा टोलीबाट मतगणना जारी रहेको इलामका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!