स्मरणशक्ति बढाउन...

Posted on: 29 Sep, 2023

काठमाडौँ | मानिस शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन । हामी कहिले काहीँ आफैंले राखेको वस्तु बिर्सेर हैरान बन्छौं । अझ उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ । स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन । त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक स्वास्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ र स्मरण शक्ति पनि तेज बन्छ । 


स्मरण क्षमता बढाउँने खानेकुरा :

ओखर

मस्तिष्क आकारको ओखरमा ओमेगा ३ फ्याटी एसिड अत्याधिक मात्रामा पाइन्छ । ओमेगा ३ का कारण मस्तिष्कमा सूचनाको आदानप्रदान राम्रोसँग हुन्छ । जसका कारण ओखर खानाले मस्तिष्क तेजिलो हुन्छ । यस्तै नियमित ओखर खानाले डिप्रेसनको खतरा कम भएर जानुका साथै एकोहोरो हुने समस्या पनि कम हुन्छ । क्यालिफोर्निया युनिभर्सिटीका सोधकर्ताले नियमित ओखर खाने व्यक्तिहरूमा डिप्रेसनको असर २६ प्रतिशत कम भएर जाने पाइएको उल्लेख गरेका छन् ।

बदाम

आलमण्ड अर्थात् बदाम सानो भए पनि यो फल बहुगुणकारी छ । बदामको नियमित सेवनले शरीरमा विभिन्न रोग लाग्न त पाउँदैन नै यो बुद्धिवर्धक र सौन्दर्यवर्धक पनि मानिन्छ । यसमा प्रोटिन, भिटामिन, मिनरल्स र फ्याट पर्याप्त मात्रामा पाइन्छ । छाला मुलायम बनाउन मात्र होइन यसमा भएका तत्वहरूले स्मरण क्षमता बढाउन मद्दत गर्छ । बदाममा अन्य धेरै पोषक तत्व हुन्छन्, जस्तै, म्यागाजिन, कपर, राइबोफ्लाविन आदि । यी सबै तत्वले शरीरमा शक्ति र ऊर्जा प्रदान गर्दछन् । नियमितरूपमा बिहान उठेर अघिल्लो दिन रातभर पानीमा भिजाएको १० वटा बदाम खाँदा दिमाग तेज हुन्छ ।

अमला

स्वादिष्ट फल अमला स्वास्थ्यको दृष्टिकोणले अति नै गुणकारी छ । अमलाले स्वास्थ्य सम्बन्धी धेरै समस्यालाई समाधान गर्छ । अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक पर्ने तत्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले गुणयुक्त फलको रूपमा लिइन्छ । बिहान खाली पेटमा अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ । घरिघरि रिस उठ्ने समस्या समेत यसले कम गराउँन मद्दत गर्छ । यस्तै अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ । भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ ।

स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन । त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ ।

माछा

मानिसको मस्तिष्कको करिब ६० प्रतिशत भाग बोसोले बनेको हुन्छ । त्यसैले मस्तिष्कलाई सक्रिय बनाउन पनि फैटी एसिडको आवश्यक्ता पर्छ । माछामा ओमेगा ३ फ्याटी एसिड भरपूर मात्रामा पाइन्छ, जसले मस्तिष्क तेजिलो बनाउँछ ।

गोलभेडा

दैनिकरुपमा हाम्रो भान्सामा प्रयोग हुने गोलभेडा स्वास्थ्यका लागि निकै लाभदायक छ । गोलभेडामा भरपूर एन्टीअक्सिडेन्ट तथा लाइकोपिन पाइन्छ जसले मस्तिष्कको शक्ति बढाउँछ । फ्री रेडिकलले मस्तिष्कलाई हानी पुर्याउँछ । दैनिक गोलभेडाको सेवनले फ्री रेडिकलको समस्या हटेर जान्छ । गोलभेडालाई जुनसुकै तरिका तरकारी, सलाद तथा अचारको रुपमा प्रयोग गरेर खान सकिन्छ ।

कफी

सहि तरिकाले ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकारात्मक असर गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । कफीको दैनिक सेवनले आलस्यता टाढा भाग्नुका साथै मानिसको स्वास्थ्यमा सकारात्मक असर पार्छ । ब्ल्याक कफीमा क्यालोरीको मात्रा धेरै कम हुन्छ र यसमा क्याल्सियम र पोटासियम जस्ता पोषक तत्व पाइन्छ । बिहानको कफी सेवनले स्मरणशक्ति तेज र मस्तिष्कको क्षमता बढाउँछ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फूर्तिलो बनाउन महत्वपूर्ण मानिन्छ ।

अनार

स्मरणशक्ति बढाउने तरिकाहरू मध्ये एउटा हो, फलफूलहरूको सेवन । जसमा पनि अनारलाई निकै फलदायी मानिन्छ । अनार एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसको सेवनले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । जसको कारण मस्तिष्कसम्म अक्सिजन सजिलै पुग्छ । यसले गर्दा हाम्रो मस्तिष्कले सही तरिकाले काम गर्छ । अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा पनि बढ्दैन ।

ग्रीन टी

एन्टीअक्सिडेन्ट तत्वले भरपूर ग्रीन टीले स्मरणशक्ति बढाउन मद्दत गर्छ । यसमा पोलिफिनोल तत्व पाइन्छ, जसले स्मरण शक्ति अझै बढाउँछ । दैनिक दुई कप ग्रीन टी नियमित सेवनले स्मरण शक्ति बढाउँन निकै मद्दत गर्छ ।

गाजर

गाजर स्वादिलो मात्र होइन स्वास्थ्यवर्धक खानेकुरा पनि हो । गाजर पौष्टिकताले भरिपूर्ण छ । गाजरमा भिटामिन ए, बी, सी, डी, ई तथा के समेत पाइन्छ । यसमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । जसले हाम्रो स्मरण शक्ति बढाउँन मद्दत गर्छ । गाजर सम्भव भए दिनहुँ खानु राम्रो हो, नभए दिनको दुईतीनचोटि खाँदा पनि दिमाग स्वस्थ रहन्छ ।

पालुङ्गो

पालुङ्गोमा पोटासियम हुन्छ । यसले मस्तिष्कको कोशिकामा राम्रो सम्पर्क बनाउँछ । साथै सोच्ने तथा याद राख्ने शक्ति बढाउँछ । पालुङ्गोमा एन्टीअक्सिडेन्ट बाहेक म्याग्निसियम, फोलेट, भिटामिन ‘ई’ तथा भिटामिन ‘के’ पाइन्छ, जसले डिमेन्सिया हुनबाट जोगाउँछ । पालुङ्गोले स्मरण क्षमता बढाउनुका साथै यो क्याल्सियमको समेत राम्रो स्रोत हो ।

मह

मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्यवस्तु हो । महले मान्छेको स्मरणशक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ । हाम्रो दैनिक जिवनमा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता आवश्यक तत्व पाइन्छ । त्यसैले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ । दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ । महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छन् ।

गाईको घिउ

गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यो बाहेक गाईको घिउ मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ । त्यस्तै शरीरमा शक्ति बढाउन र स्मरणशक्ति बढाउनमा गाईको घिउ निकै लाभकर छ । घिउको फ्याक्टीक एसिडलाई शरीर समयमै पाचन गर्छ । जसले पाचन शक्ति स्थिर राख्न सहयोग गर्छ । गाईको घिउले राति सुत्नु अघि टाउकोको मालिस गर्दा यसले स्मरणशक्ति तीखो बनाउँछ ।

रहर दाल

खानामा दाल भएमा भोजन पनि एकदम स्वादिष्ट हुने गर्दछ । दाल पनि धेरै किसिमका हुन्छन् । कुनै दाल स्वादिष्ट हुन्छ भने कुनै अलिक नमिठो भएता पनि स्वास्थ्यलाई लाभकारी बनाउँछ । त्यो दालमा रहर दाल उत्तम मानिन्छ । रहर दालमा खनिज, कार्बोहाइड्रेट, आइरन, क्याल्सियम आदि प्रशस्त मात्रामा पाइन्छ । यसमा २२ प्रतिशत प्रोटिन हुन्छ । राति सुत्नु अघि रहरको दाल भिजाएर राख्ने र बिहान यो दालको पेस्ट बनाएर त्यसमा मिश्री हालेर अथवा दाल बनाएर सेवन गर्नाले दिमाग तीखो हुन्छ । यसरी स्मरण शक्ति बढाउनका लागि खानामा एन्टी अक्सिडेन्ट तथा फ्लेभिन्वाइड तत्वको मात्रा बढाउनु पर्छ । यी खानेकुराको सेवन गर्दा मस्तिष्कमा हुने कोशिकाहरुको क्षतिको दर घट्छ ।

स्मरण शक्ति बढाउने उपाय :

हिडडुल गर्ने

हिडडुल गर्दा दिमागको स्मरणशक्ति बढ्ने भएकोले नियमित हिँड्ने बानी बसाउनु पर्छ । जति हिडडुल गर्न सक्यो त्यति नै स्मरणको लागि सहयोग गर्ने हिपोक्याम्पस बढ्ने अनुसन्धानले पनि देखाएको छ । तसर्थ जति सक्दो बढी हिड्ने ताकी हाम्रो दिमाग बढी सक्रिय रहोस् ।

खेल खेल्ने

खेल खेल्दा दिमाग सक्रिय हुन्छ । तसर्थ फुर्सदको समयमा खेल्नु पर्छ । शारीरिक रूपमा बाहिर जान समय नभएमा कम्प्युटरमा नै चेस, क्रसवर्ड, पजल, भिडियो गेम तथा अन्य खेल खेल्दा दिमागको व्यायाम गराउँछ र स्मरणशक्तिलाई तृष्ण बनाउन मद्दत गर्दछ ।

नियमित व्यायाम

नियमितरुपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रुपमा रक्तसंचार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण क्षमतामा पनि वृद्धि हुन्छ ।

गीत गाउने, सुन्ने

स्मरणशक्ति बढाउन गीतले पनि ठूलो सहयोग गर्छ । गीत सुन्दा दिमागको कोषलाई बलियो बनाउँछ । आफ्नो लयबद्धताका कारण गीत सजिलै तपाईँको दिमागमा बस्छ । आफ्नो मनपर्ने गीतको धुनमा त्यस चिजलाई सेट गर्ने जसलाई तपाईँ सम्झन चाहनुहुन्छ । यसबाट तपाईँले कुनै पनि कुरा लामो समयसम्म याद गर्न सक्नुहुनेछ ।

योगा

योग, ध्यान, प्राणायम यस्तो विधी हो, जसले मस्तिष्कको कार्य संचालनलाई सही राख्छ । त्यसैले योग, ध्यान र प्राणायामलाई दैनिक तालिकाभित्र समेट्नुपर्छ । योगाले मस्तिष्कको शान्ति प्रदान गर्दछ जसका कारण मानिसमा एकाग्रतामा वृद्धि हुने र स्मरण क्षमतामा वृद्धि हुन्छ ।

पर्याप्त निन्द्रा

दिमागलाई तेजिलो बनाउन पर्याप्त निन्द्रा पनि आवश्यक छ । गहिरो निदाउने व्यक्तिको स्मरण शक्ति पनि बलियो हुन्छ । दिमागले राम्रोसँग काम गर्न वयस्कको दिमागलाई दैनिक ७ घण्टा निन्द्राको आवश्यक पर्छ ।

आनन्ददायी क्षणको अभ्यास

जिन्दगीका आनन्ददायी क्षणहरूको पटक–पटक स्मरण गरेमा मानसिकरूपमा कसरत हुन्छ । जसले गर्दा पनि स्मरण शक्ति बढाउन सहयोग पुर्याउँछ ।

नयाँ कुरा सिक्ने

केही न केही नयाँ कुरा दिनहुँ सिक्ने गर्नाले मस्तिष्क सक्रिय हुन्छ र यसले स्मरणशक्तिमा पनि सुधार हुन्छ ।

समयतालिका बनाउने

कुनैपनि कामलाई समयतालिका बनाएर समयमै गर्ने गर्नुपर्छ । कुनैपनि चिजलाई सम्बन्धित ठाउँमा राख्नुपर्छ । यसो गर्दा कुनैपनि कुरालाई राम्रोसँग सम्झिन सकिन्छ ।

विषयलाई भिजुअलाइज गर्ने

यदि कुनै नाम वा संख्या तथा तथ्यांकहरु छिटै भुल्ने समस्या छ भने त्यस्ता तथ्य वा संख्या तथा नामलाई कुनै दृश्य वा कथासँग जोड्नुहोस् । यसरी रमाइलो कुरासँग जोडेर भिजुअलाइज गरेमा लामो समयसम्म सम्झिन सकिन्छ ।

सन्तुलित भोजन

स्मरणशक्ति बढाउने दृढ संकल्प भएमा दैनिक रूपमा सन्तुलित भोजन खानुपर्ने हुन्छ । खानाको विषयमा हेलचेक्र्याइँ नगरौँ । बजारमा पाइने विभिन्न प्रकारका जंकफुड खान छाडौँ । यसको प्रयोगले स्मरण शक्ति घटाउँछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!