सन्दीप लामिछानेको मुद्दा चन्द र ज्ञवालीको इजलासको छैटौँ नम्बरमा

Posted on: 28 Apr, 2024

बैशाख १६, काठमाडौँ । बलात्कार अभियोगमा दोषी प्रमाणित क्रिकेटर सन्दीप लामिछानेको मुद्दा उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको छ । लामिछाने र गौशाला २६ का तर्फबाट सरकारी वकिलले दायर गरेको मुद्दा सो इजलासमा आइतबार छैटौँ नम्बरमा परेको छ ।

अन्तिम सुनुवाइका निम्ति यही वैशाख १० गते न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो । न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा थिए । सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित गरिएको थियो ।


काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरु भइसकेको छ ।

उच्च अदालतले यसअघि पीडित गौशाला २६ को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट पनि गौशाला २६ को जन्मदर्ता झिकाउन तीनपटकसम्म आदेश भएको थियो । एकपटक पीडित गौशाला २६की आमाको समेत जन्मदर्ता झिकाउने आदेश काठमाडौं जिल्ला अदालतबाट भएको थियो ।

उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनलाई १२ वर्षभन्दा बढी जेल सजाय हुनेछ । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोगमुक्त हुनेछन् ।

तर, उच्च अदालतले जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्षमा पुर्पक्षको अवधि कटाएर पूरा समय जेल बस्नुपर्नेछ । जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!