नेपालमा ‘अगतिलो स्वागत’ गरिएकोबारे के भन्छन् वेस्ट इन्डिजका कप्तान र प्रशिक्षक?

Posted on: 26 Apr, 2024

बैशाख १४, काठमाडौं । पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज टीमलाई ‘अगतिलो स्वागत’ गरिएको भन्दै नेपाल क्रिकेट संघ (क्यान) को  सामाजिक सञ्जालमा धेरै आलोचना भयो ।

क्यानले खेलाडीलाई विमानस्थलबाट होटलमा पुर्याउनका लागि एउटा पर्यटक बस पठाएको थियो भने लगेजहरु हाल्न बलेरो भ्यान पठाइएको थियो ।  ‘कुखरा बोक्ने गाडी’ विदेशी खेलाडीको लगेज ओसार्न पठाइएको टिप्पणी सामाजिक सञ्जालमा भएको थियो । साथै पहिलोपटक उपल्लो स्तरको विदेशी टीम नेपाल आउँदा क्यानका उच्च पदस्थहरु विमानस्थलमा स्वागत गर्न नगएकोमा पनि क्रिकेट समर्थक खिन्न देखिएका थिए । कतिपयले खेलकुद मन्त्री विराजभक्त श्रेष्ठमाथि समेत प्रश्न उठाएका थिए ।

यस विषयमा अहिलेसम्म वेस्ट इन्डिज टीमबाट कुनै पनि प्रतिक्रिया आएको छैन । तर, वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले नेपालमा राम्रो आतिथ्यता पाइरहेको बताए ।


उनले भने, ‘हामीलाई न्यानो स्वागत गरियो । हामीले अहिलेसम्म राम्रो आथित्य पाइरहेका छौं । मानिसहरु धेरै मित्रवत छन् । यहाँ आउन पाउँदा निकै खुसी छौं,’ उनले भने ।

वेस्ट इन्डिज ‘ए’ का प्रशिक्षक फ्लोइड रिफरले भने बाहिर भइरहेका चर्चा तथा टीकाटिप्पणीप्रति अनभिज्ञता प्रकट गरे ।

‘इमान्दारितापूर्वक भन्नुपर्दा हामीले अहिले इन्टरनेट चलाइरहेका छैनौं । हामी यहाँ क्रिकेट खेल्न आएका हौं, र हाम्रो फोकस खेलमा नै छ । सामाजिक सञ्जालमा के भइरहेको छ भन्नेमा हाम्रो फोकस छैन । हामी आफ्नो जोनमा छौं,’ उनले भने ।

वेस्ट इन्डिज टीम सोल्टी होटलमा राखिएको छ । उनीहरुले टियु क्रिकेट मैदानमा अभ्यास गरिरहेका छन् । नेपाल र वेस्ट इन्डिजबीच भोलिबाट टी-२० श्रृंखला सुरु हुँदैछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!