बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर, सुरु गरियो उपचार

Posted on: 06 Feb, 2024

माघ २३, काठमाडौँ | बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। क्यान्सरको प्रकारबारे खुलाइएको छैन। 

प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। यद्यपि उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ। 


क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि सोमबारदेखि उनको उपचार सुरु गरिएको बीबीसीले उल्लेख गरेको छ।

बकिङ्घम राजदरबारका प्रवक्ताले सोमबार एक वक्तव्य जारी गर्दै राजाको नियमित उपचारको तालिका सुरु गरिएको बताएका छन्। साथै डाक्टरहरुले यस अवधिमा उनलाई सार्वजनिक रुपमा वहन गर्नुपर्ने जिम्मेवारीहरु स्थगित गर्न भनेका छन्। 

राजदरबारका प्रवक्ताले राजा चार्ल्स आफ्नो उपचारका विषयमा ‘पूर्ण रुपमा सकारात्मक’ रहेको बताएका छन्। साथै उनले छिटोभन्दा छिटो आफ्नो राजकीय कामकाज पुन: सुरु गर्ने प्रवक्ताले उल्लेख गरेका छन्। 

‘अहिले उहाँ केही समयका लागि राजकीय कामकाजबाट अलग हुनुभएको छ। उहाँको ठाउँमा राज परिवारका वरिष्ठ सदस्यले ती दायित्व निर्वाह गर्नुहुनेछ,’ राजदरबारका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ। 

७५ वर्षीया राजा अस्पतालमा भने भर्ना भएका छैनन्। ‘आउटडोर प्यासेन्ट’का रुपमा उनको उपचार चलिरहेको छ।

उनको बिमारीको अवस्था र उनी ठिक हुन लाग्ने समयबारे यकिन जानकारी सार्वजनिक भएको छैन। यद्यपि उपचारका क्रममा पनि उनी केही राजकीय काममा भने सरिक हुनेछन्। यसक्रममा उनले विभिन्न दस्तावेजहरुमा हस्ताक्षर गर्ने र राजदरबार भित्रै निजी बैठकहरुमा सहभागिता जनाउनेछन्।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!