मध्यरातमा मापसे गरी मुलपानीबाट नगरकोट हिँडेको थिए कमेडी च्याम्पियनको टोली

Posted on: 24 Mar, 2024

चैत ११, काठमाडौँ | टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जनाको टीम गम्भीर दुर्घटनामा पर्‍यो । घटनाको मुख्य कारण मापसे गरेर सवारी चलाउनु देखिएको छ ।

बुझिएअनुसार शुक्रबार राति अबेरसम्म मुलपानीस्थित कमेडी च्याम्पियनको अफिसमा मदिरा पार्टी चलेको थियो । मदिरा सकिएपछि उनीहरू ११ बजेतिर नगरकोट जाने भनेर गाडीमा निस्किए । निर्देशक भण्डारीसहित पुजन अधिकारी, सुशान्त बस्याल, प्रकृती गिरी, पवन भट्टराई र रजनिश अर्याल गाडीमा सवार थिए ।


स्रोतकाअनुसार गाडीमा रहेका सबैले मदिरा सेवन गरेका थिए । अगाडिको दुई सीटमा पुजन र विशाल भण्डारी थिए । प्रहरीले विशालले गाडी चलाएको बताएको छ । तर, गाडीमै सवार रहेकाहरुले भने पुजनले चलाएको बताएका छन् । उनीहरुले पुजनले गाडी चलाएको भिडिओ पनि प्रहरीलाई देखाएका छन् । जसले चलाए पनि मापसे गरेर गाडी चलाएकोमा भने शंका छैन ।

नगरकोटतिर जान सल्लाघारीबाट मोडिए पनि गाडी राम्ररी चलाउन नसकेपछि टोलीले गन्तव्य बदलेको थियो । नगरकोटको बाटो रिस्की हुने भन्दै उनीहरू धुलिखेल जाने भनेर ब्याक भए । धुलिखेल जाने क्रममा जगातीमा गाडी दुर्घटना भएको हो । विपरीत दिशाबाट आइरहेको टिपरलाई कारले घुम्तीमा ठक्कर दिएको थियो । टिपरले साइड दिएर रोकेको अवस्थामा नै कारले ठक्कर दिएको बताइएको छ । तस्वीरमा हेर्दा कारको दायाँ भाग चिरिप्पै भएको छ भने टिपरको पनि दायाँ भागमा क्षति पुगेको छ । टिपरमा रहेकाहरूलाई भने केही भएन ।

अगाडिको सीटमा रहेका विशालको ओठमा चोट लागेको छ भने पुजन लगभग सकुशल छन् । ड्राइभर पछाडिको सीटमा थिए सुशान्त । उनको टाउकोमा गम्भीर चोट लाग्यो । अरुलाई पनि शरीरका विभिन्न भागमा चोट लागेको थियो । अस्पताल पुर्‍याइँदा सुशान्त अर्धमुर्छित थिए ।

दुर्घटनास्थलमा प्रहरी आएपछि ड्राइभरको खोजी गरेका थिए । विशाल र पुजन दुवैले आफूले गाडी नचलाएको बताए । उनीहरूले एकजना ड्राइभरको नाम लिए जो त्यहाँ सवार नै थिएनन् । प्रहरीले सुरूमा ड्राइभर नभेटिएको रिपोर्टिङ गरेको थियो । तर, टिपरका चालकले ‘लामो कपाल र दाह्री भएको व्यक्तिले चलाएको’ बयान दिएपछि विशालको नाम गयो । अहिले पनि प्रहरी रेकर्डमा विशाललाई नै गाडी चालक बनाइएको छ ।

घटनास्थलबाट सबैलाई प्रहरीले लिएर मध्यपुर ठीमी अस्पतालमा भर्ना गर्‍यो । उनीहरूमध्ये ठूलो चोट नलागेका विशाल र पुजन दुवैलाई पक्राउ गरेर जगाती प्रहरीको हिरासतमा राखियो । अस्पतालमा शुशान्तबाहेक अरु खतरामुक्त थिए । तर, टाउकोको भित्री भागमा चोट लागेका सुशान्तलाई तत्काल भेन्टिलेटरमा राखेर एनेस्थेसिया दिइएको थियो । उनको अवस्था जटिल रहेको चिकित्सकले बताएका छन् ।

हिजो दिनभरि सुशान्तको परिवार र विशाललाई राखेर प्रहरीले मेलमिलाप प्रयास गर्‍यो । अन्ततः बेलुका दुवै पक्षबीच सहमति भएको छ । सुशान्तलगायत घाइते सबैको उपचार खर्च कमेडी च्याम्पियनका तर्फबाट विशाल भण्डारीले व्यहोर्ने भएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!