फूलपातीमा ‘छक्का पञ्जा ५’, दीपकसँग वर्षाको जोडी बाँधिने

Posted on: 30 May, 2024

जेठ १७, काठमाडौँ । सफल फ्रेन्चाइज ‘छक्का पञ्जा’को अब पाँचौं श्रृंखला निर्माण हुने भएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी दशैंको फूलपाती अर्थात् असोज २४ गतेलाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्मलाई दीपाश्री निरौलाको निर्देशन गर्ने भएकी छन् । ‘छक्का पञ्जा ४’लाई भने हेमराज विसीले निर्देशन गरेका थिए ।


यसपटक ‘छक्का पञ्जा’ फ्रेन्चाइजमा अभिनेत्री वर्षा सिवाकोटीको प्रवेश भएको छ । सार्वजनिक पोस्टरमा उनी सिंहासनमा बसेकी छन् । उनको पहिरनले नवविवाहित दुलहीको संकेत गर्छ । उनको छेवैमा दीपकराज गिरी कोर्ट-पाइन्टमा ठाटिएर देखिएका छन् । केदार घिमिरे (माग्ने बुढा) अनुचर (सेवक)को भूमिकामा छन् । उनी वर्षालाई राजकीय शैलीको छाता ओढाइहेको अवस्थामा चित्रित छन् ।

आमा सरस्वती मुभिज र आईएमआईको प्रस्तुतिमा बन्न लागेको फिल्मको बिहीबार बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा मुहूर्त गरिएको छ । अब छायांकनका लागि फिल्मको टिम काभ्रेको पाँचखाल प्रस्थान गर्नेछ । काभ्रेपछि पोखरामा छायांकन हुनेछ । फिल्मको छायांकन सेड्युल ४५ दिनको राखिएको छ । फिल्मले यसपटक सामाजिक विषय उठाउन लागेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!