रवि लामिछानेलाई शेखरको चुनौती– गल्ती नगरेको भए अर्को मन्त्रालय गएर देखाउनुस्

Posted on: 23 May, 2024

जेठ १०, काठमाडौँ | नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई स्वतन्त्र रुपमा काम गर्न नदिएको बताएका छन्। 

बिहीबार नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गल्ती नगरेको भए अर्को मन्त्रालयमा जान चुनौती दिएका छन्। 

‘प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुहोस् । सिआइबीलाई काम गर्न दिनुहोस्,’ उनले भने,’ कान्तिपुरलाई तर्साएको र ढाकछोप गरेको हो। मिडिया र पत्रकारमाथि तर्साउने काम भइरहेको छ।’

प्रहरीले अधिकार छ भन्दै जे पनि गर्न नपाइने उनले उल्लेख गरे। ‘मानिसको इज्जतमाथि प्रहरी प्रशासनले खेल्न पाउँदैन,’ उनले अगाडि थपे,’ मानिसको इज्जत हुन्छ । जो मानिसले बदमासी हुन्छ उसलाई केही नगर्ने । जो मानिस भागिरहेको छैन उसलाई बोलाएर बयान लिए हुन्छ ।‘

कोइरालाले मुलुक निरंकुशता र अधिनायकवादतर्फ गएको जिकिर गरे। ‘देश अधिनायकवाद र निरंकुशतातर्फ अगाडि बढिरहेको सबैले बुझ्नुपर्छ,’ उनको भनाइ छ,’ यो अधिनायकवादको ट्रेलर मात्र हो भनेर हामीले बुझ्न जरुरी छ।‘

सञ्चारकर्मीहरूलाई उनले त्रासमा नरहन पनि आग्रह गरे। नेपाली कांग्रेस सधैँ साथमा रहने र निर्वाध भई निडरका साथ काम गरेर अगाडि बढ्न उनले सुझाव दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!