महिलाको भेषमा खतरनाक पुरुष बन्दी जेलबाट फरार

Posted on: 27 Mar, 2024

चैत १४, कारकस | भेनेजुएलामा एक जना खतरनाक अपराधी जेलबाट भागेका छन् । बन्दीहरूलाई भेटघाट गर्ने समय सकिने बेलामा ती पुरुष बन्दी महिलाको भेषमा लुसुक्क भागेका थिए । फरार भएका बन्दी २५ वर्षका म्यानुअल लोरेन्जो अभिला अल्भारादो हुन् । उनी नरसंहार र लुटपाट मच्चाएको अपराधमा हिरासतमा थिए ।

यो घटना मार्च १३ को हो । मध्याह्न २ बजेतिर बन्दीलाई भेट गर्न दिइने समय सकिने बेलामा उनी जेलबाट भागेको भन्दै स्थानीय पत्रिकाले खबर छापेको छ । अल्भारादोले खैरो विग र महिलाको पहिरन लगाएर भागेका थिए । यी सबै चिज उनको प्रेमिकाले ल्याइदिएको हुन सक्ने बताइएको छ ।


प्रहरीको कडा पहरा भएको ठाउँबाट ती अपराधी महिलाको पहिरनमा जेलमा आफन्त भेट्न आएका महिलाहरुको समूहमा मिसिएर निस्किएको जेलको सेक्युरिटी क्यामरामा देखिएको छ । सुरक्षाकर्मीहरूले उनलाई कसरी चिन्न सकेनन् भन्ने अस्पष्ट छ । खुङ्खार अपराधी फरार भएपछि चार जना सुरक्षाकर्मीमाथि छानबिन भइरहेको छ ।

अल्भारादोलाई हालै मात्र अर्को जेलबाट त्यहाँ टोकुयिटोको सो जेलमा ल्याइएको थियो । अल्भारादोको अपराधमा उनको प्रेमिका पनि हिस्सेदार भएको बताइएको छ । उनी पनि प्रहरीको वान्टेडको सूचिमा छिन । महिलाको भेष धरेर पुरुष बन्दी भागेको यो पहिलो पटक होइन । केही वर्ष अघि पराग्वेमा पनि यस्तै घटना घटेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!