पूर्वएसएसपी लव विष्टको खुलासा: नोटको बिटोसहित बुढानीलकण्ठकी भाउजुको चाकडी नगर्दा बढुवाबाट छुटाइयो

Posted on: 11 May, 2023

वैशाख २८, काठमाडौं | नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले प्रहरी संगठनभित्र हुने राजनीतिक हस्तक्षेप र मोलमोलाइको पीडित आफू पनि भएको बताउँदै ७ वर्षपछि एउटा ‘खुलासा’ गरेका छन्। 

काभ्रेका विष्टले सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै आफ्नो प्रहरी सेवाकालको घटना स्मरण गराएका छन्।  उनले आफू प्रहरी सेवामा रहँदा २ वटा राजनीतिक आक्रमण भएको विषय सार्वजनिक गेका छन्। पहिलो आक्रमण २०४७ सालमा भएको उनको दाबी छ।


२०४७ मा सप्तरीबाट २४ घन्टामा दार्चुला सरूवा गरिएको उनले बताएका छन्। सोझा गाउँलेलाई डांका मुद्दा लगाएर फसाउन नमान्दा त्यतिबेला आफ्नो दार्चुला सरुवा भएको विष्टको भनाइ छ। 

‘सरुवाको कारण निमुखा गाउँलेहरुलाई फसाउन रचिएको झुटा डांका मुद्दा दर्ता गर्न नमानेको। सरुवा गराउने नेपाली कांग्रेस सप्तरीका नेता राम कुमार चौधरी जो गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र हुन्,’ विष्टले लेखेका छन्। 

त्यसपछि २०७३ सालमा आफूमाथि आक्रमण भएको उनको भनाइ छ। २०७३ मा एसएसपीबाट डीआईजी बढुवा हुनेबेला ज्येष्ठताका आधारमा आफू पहिलो नम्बरमा रहेको विष्टको दाबी छ। तर, तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पैसा बुझाउन नमान्दा आफू बढुवाबाट बञ्चित भएको विष्टले उल्लेख गरेका छन्। 

‘कार्यसम्पादनमा समेत अव्बल हुँदाहुँदै पनि नोटको बिटोसहित बिमलेन्द्र निधिमार्फत् बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट बञ्चित भइ अवधि नै नपुगी प्रहरी सेवाबाट हट्नु परेको थियो। जस होस् नेपाली कांग्रेसको,’ विष्टले भनेका छन्।

विष्टको बढुवा हुनेबेला २०७३ पुस १ गते तीन डीआईजीको पद रिक्त थियो। त्यतिबेला गणेश केसी, रमेश भट्टराई र केदारमान सिंह भण्डारीलाई बढुवाका लागि सिफारिस गरिएको थियो। 

बढुवामा छुटेपछि विष्ट २०७३ पुस १५ गते एसएसपीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका थिए। त्यतिबेला विष्टसँगै अर्का एसएसपी बलराम शर्मा पौडेल पनि अनिवार्य अवकाशमा गएका थिए।  नेपाल लाईभबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!