रास्वपाले ३ प्रदेशका महामन्त्री हटायो, कर्णालीको समिति नै विघटन

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई हटाएको छ भने कर्णालीको सम्पूर्ण समिति नै विघटन गरेको छ ।

कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको र गण्डकीका महामन्त्री अशोक खड्का र सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी कार्यक्षमता कमजोर भएको भन्दै जिम्मेवारीबाट हटाइएका हुन् ।

कर्णालीको प्रदेश समिति र जिल्ला समितिहरुले पनि संगठन विस्तार गर्न नसकेकाले विघटन गरिएको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।


कोशीका महामन्त्री थापाले सनमुन प्लाजाका नाममा सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएका थिए । तर पाँच वर्षसम्म भाडा नतिरेको विषय बाहिरिएपछि प्रदेश समितिले स्पष्टीकरण सोधेको थियो ।

चित्तबुझ्दो जवाफ नदिई सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिएपछि केन्द्रीय अनुशासन आयोगको सिफारिसमा प्रदेश समितिले थापालाई हटाएको हो ।

‘तिर्नुपर्ने कुरा मात्रै हो भने त्यो तिरिसकेपछि निलम्बन फुकुवा हुन्छ । अरु कुरा छ भने थप छानबिन गर्नुपर्ने हुन्छ’, पार्टीका सहमहामन्त्री बुर्लाकोटीले भने, ‘नतिर्ने नै नियत हो वा अरु केही पनि छ कि भनेर पार्टीले छानबिन गर्दैछ ।’

त्यस्तै गण्डकी प्रदेशका महामन्त्री अशोक खड्कालाई समय नदिएको, कार्यसम्पादन कमजोर भएको, गुट निर्माण गरेको लगायत आरोपमा ५ मंसिरमा बर्खास्तीमा परेका थिए ।

रास्वपाले हरेक साता प्रदेशका महामन्त्रीहरुसँग संगठनको अवस्थाको जानकारी लिने गरेको छ । संगठन निर्माण गर्न नसक्ने र खराब आचरण भएकालाई हटाउन नसके पार्टीमा भीडमात्रै जम्मा हुने भएकाले हटाउने गरिएको सहमहामन्त्री बुर्लाकोटी बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!