सीटीइभीटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो

Posted on: 18 Feb, 2024

फागुन ६, काठमाडौँ | मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् । आइतबार अध्यक्ष अधिकारीको कार्यकक्षमै उनीहरूले कालोमोसो दलेका हुन् ।

अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको अनेरास्ववियू (क्रान्तिकारी)को आरोप छ । सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा—बढुवा लगायतमा व्यापक अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको उसको आरोप छ ।


कर्मचारीको वृद्धि विकासमा विभेद गर्ने, अन्य आन्तरिक क्रियाकलापमा जता पनि जेमा पनि राजनीतिको रङ्ग घुसाउने र भाग माग्ने गरेको पनि अनेरास्ववियू (क्रान्तिकारी)ले आरोप लगाएको छ ।

उपाध्यक्ष अधिकारीको आर्थिक, सांस्कृतिक, सामाजिक र चारित्रिक विषयमा पनि उसले प्रश्न उठाएको छ । क्रान्तिकारी आन्दोलनका विरुद्ध राज्य शक्ति दुरुपयोग गर्दै श्वेत तथानाम लेख्ने बोल्ने र मानमर्दन गर्ने गरेको अनेरास्ववियू (क्रान्तिकारी)को आरोप छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!