कसरी सफल भयो एक घण्टामा श्रम स्वीकृति ? यस्तो छ भित्री कथा

Posted on: 12 Apr, 2024

अनिल अधिकारी । चैत ३१, काठमाडौँ । श्रममन्त्री डोल प्रसाद अर्यालले श्रममन्त्रीको रुपमा नियुक्त भएर आएपछि एक घण्टामा श्रम स्वीकृति जारी गर्दै पहिलो बेथितिको अन्त्य गर्न सफल भएका छन् । सुधारसंगै अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले सम्पूर्ण कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराईरहेको छ । 


तश्वीरमा: श्रम कार्यालय ताहाचलमा जिम्मेवारीमा खटिदै कर्मचारीहरु । 

यो सम्भव हुनुमा श्रममन्त्री अर्यालले आफ्नो स्वविवेकलाई गणितीय हिसावले प्रयोग गरेको पाइएको छ । मन्त्री अर्यालले श्रम कार्यालय अन्तर्गत भईरहेको बेथितिलाई नजिकबाट बुझेर दैनिक रुपमा श्रम स्वीकृति लिनको लागि आवेदन पर्ने संख्या र जारी भईरहेको संख्यालाई नजिकबाट अध्ययन गरे । जसमा उनले ढिला-सुस्तीको कैफियत पत्ता लगाएर त्यसको व्यवस्थापनमा योजना बनाए । 

ढिला-सुस्तीको मुख्य समस्या के रहेछ भने श्रम कार्यालय ताहाचलमा दैनिक श्रम स्वीकृतिको लागि आवेदन पर्नेको संख्या दैनिक औशतमा १५०० जना रहेछ । श्रममन्त्रीको स्व-अनुगमनको क्रममा भेटिएको कैफियत कुनै कर्मचारीले एकै घण्टामा ठूलो संख्यामा श्रम स्वीकृति जारी गरिरहेको र कसैले अप्रत्याशित कम संख्यामा श्रम स्वीकृतिको काम गर्दैरहेको भेटे । अर्को तर्फ एकै कर्मचारीले भेरिफाई गरे पुग्ने अवस्थामा दुई/तीन लेयर प्रयोग भईरहेको विषयमा चासो राखे । उनले यिनै कैफियतलाई बुझेर त्यसको व्यवस्थापन गर्ने सम्बन्धमा केहि मन्त्रिस्तरीय निर्णय गर्दै FEMIS सिस्टम बनाउने समूहसँग नियमित बसे र केहि सिस्टममा समेत सुधार गरे । 

सुधारपछि मन्त्री अर्यालले अब एक घण्टामा एक जना कर्मचारीले कति जनाको श्रम स्वीकृति जारी गर्न सक्छन् भन्ने कुराको परीक्षण गरे । जुन परीक्षणको नतिजा यति सकारात्मक आयो कि आवेदनकर्ताले आवेदन दिएको २/३ मिनेटमै श्रमस्वीकृति जारी गर्न सम्भव भयो । परीक्षणको नतिजा अनुसार एकै कर्मचारीले एक घण्टा भित्र २५ जना भन्दा बढीको श्रम स्वीकृति जारी गर्न सके । यसै हिसाव अनुसार एकै कर्मचारीले दैनिक ७ घण्टा काम गर्दा १५० जना भन्दा बढीको श्रम-स्वीकृति जारी गर्न सक्ने देखियो । 

श्रममन्त्रीले अब कर्मचारीलाई कसरी आफ्नो काममा उत्तरदायी, जिम्मेवार बनाउने र एक घण्टामै श्रम स्वीकृति जारी गर्न संधाको लागि सम्भव बनाउने भन्नेबारे अर्को उपाय निकाले । जुन उपायले उनि सफल पनि भए । परीक्षण गरेकै हिसाव अनुसार श्रम कार्यालयमा श्रम-स्वीकृति जारी गर्न खटिएका २५ जना कर्मचारीले खट्दा दैनिक ४ हजार भन्दा बढीको श्रम स्वीकृति जारी गर्न सकिने थियो । तर कर्मचारीलाई नियमित कामको दबाब पनि दिन नहुने बुझेर कम्तिमा गर्न सक्ने क्षमतालाई न्युनतम सिमामा झारे । कुनै कर्मचारीले छिटो र कसैले ढिलो काम गर्न सक्ने बुझेर उनले काम गर्न खटिने कर्मचारीलाई घण्टामा कम्तिमा १२ जनाको श्रम स्वीकृति जारी गर्न अनिवार्य रहेको निर्देशन दिए ।    त्यसको हिसाव अनुसार एकै कर्मचारीले दैनिक ८४ जनाको श्रम स्वीकृति जारी गर्न पर्ने भयो । यसै हिसाव अनुसार श्रम कार्यालयमा रहेका २५ जना कर्मचारीले काम गर्दा दैनिक २१०० जनाको श्रम स्वीकृति जारी गर्न सकिने क्षमता भयो । जुन हिसाव दैनिक आवेदन आउनेहरुको संख्याको तुलनामा कमनै हो । कम आवेदन आउने कुरा सार्वजनिक बिदाको दिन र कुनै कर्मचारी बिदामा बस्दा अर्को कर्मचारीलाई पर्ने कामको लोडलाई व्यवस्थापन गर्न पनि यसैबाट सहज भयो । 

एक घण्टामा श्रम स्वीकृति जारी गर्न घोषणा गरेर त्यसैको व्यवस्थापन गर्न सकेपछि हौसिएका श्रममन्त्री अर्याल मन्त्रालयको अन्य जिम्मेवारीलाई व्यवस्थापन गर्न पनि उत्तिकै उत्साहित देखिन्छन् । घोषणा अनुसार काम गर्न सकेको सम्बन्धमा गत आइतबार श्रम कार्यालय ताहाचलमा मन्त्री अर्यालले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले एक घण्टामै श्रम-स्वीकृति जारी गर्न सकेको सम्बन्धमा कर्मचारीहरुलाई नै त्यसको श्रेय जाने भन्दै पटक-पटक धन्यवाद दिए । पत्रकार सम्मेलनमै आफ्नो पछाडी सबै कर्मचारीलाई राखेर मन्त्री अर्यालले पटक-पटक नमस्कार गर्दै कर्मचारीहरुको सम्मान गरे । 

यस अघिको बेथितिको अन्त्यसंगै श्रम गर्न श्रम कार्यालयमा पैसा घुस खुवाउनुपर्छ भन्ने बिचौलियाहरु सलबलाउन छाडेका छन् । यता वैदेशिक रोजगारमा जाने युवाहरुले पाईरहेको अनावश्यक सास्तीको समेत अन्त्य भएको छ ।  


बाहिर जनमानशले आरोप लगाएजस्तो कर्मचारीले गर्दा देश बिग्रिएको कुरा आफूले नमान्ने मन्त्री अर्यालको धारणा छ । उनि भन्छन् 'जुन देश बनाउन पनि कर्मचारीकै आवश्यक हुन्छ ।'  उनि अगाडी आफ्नो धारणा राख्छन् - 'देशको नेतृत्व गर्ने ठाउँमा पुगेका नेतृत्वको स्वभाव र प्रवृत्तिले देश बिग्रिने हो । हरेक मन्त्रालयको नेतृत्वमा रहने पहिलो व्यक्ति अशल र इमान्दार रहने हो भने त्यसै अनुसार उसको कमाण्डमा रहेको कर्मचारीहरु समेत अशल र इमान्दार बन्छन् भन्ने उनको धारणा छ ।' स्वार्थको राजनीति छोडेर जनताको आवश्यकताको लागि राजनीति गर्न आवश्यक रहेको उनको भनाई छ । 

वैदेशिक रोजगारमा रहेको आम बेथितिको सम्बन्धमा श्रममन्त्री अर्यालले धेरै बेथितिको समबन्धमा आफूलाई जानकारी आइरहेको र त्यसको बिरुद्धमा धेरै काम अघि बढिरहेको भन्दै समाधान दिदै जाने बताए । नेपालमै आन्तरिक रोजगारको लागि प्राथमिकता दिएर मन्त्रालयले काम गर्ने बताउने मन्त्री अर्यालले अहिलेको अवस्थामा वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन जरुरी रहेको धारणा राख्छन् । 'मलाई ३/४ महिना कुर्नुपर्दैन हजुर, १/२ महिनामै धेरै समाधान भएको पाउनुहुन्छ' श्रममन्त्री अर्यालको भनाई छ । 

तल हेर्नुहोस् गत आइतबार भएको पत्रकार सम्मेलनको भिडियो रिपोर्ट: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!