वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा

Posted on: 08 Dec, 2023

मङ्सिर २२, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा भएको छ । दाहाल श्रम तथा व्यवसायजन्य सुरक्षा बिभागमा सरुवा भएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई उक्त जिम्मेवारीबाट हटाईएको हो । गत जेठ २ मा मात्र बिभागमा नियुक्त भएका दाहालले ७ महिना वैदेशिक रोजगार बिभाग सम्हाले । दहालले वैदेशिक रोजगार क्षेत्र बेथिति सुधारमा केहि प्रयासहरु गरेका थिए । पछिल्लो पटक जापान कामदार पठाउने म्यानपावरहरुले जापान रोजगारमा पठाउँदा नक्कली प्रमाणपत्र पेश गरेको प्रकरणमा मदन दाहालले १४ म्यानपावरलाई निलम्बन गरेका थिए । त्यस्तै वैदेशिक रोजगार ऐन बिपरित काम गर्ने केहि म्यानपावर कम्पनीहरुलाई खारेज समेत गरेका थिए । 

जापान रोजगार अन्तर्गत नक्कली भाषा प्रकरणको छानबीन तथा बदमासी गर्ने केहि म्यानपावर प्रति कठोर निर्णय लिएको कारण उनको सरुवा भएको हुन सक्ने बुझिएको छ । गत महिना मात्र महानिर्देशक दहालले आफ्नो सरुवा हुने दावी गरेका थिए । 

बिभाग आउनु अघि दहाल श्रम मन्त्रालयमा थिए । त्यस अघि राजश्व अनुसन्धान विभागको महानिर्देशक थिए । राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा दहालले नेपाल इन्भेष्टमेन्ट बैंकको अरबौँ कर छलीको अनुसन्धान अघि बढाएसँगै चर्चा पाएका थिए । मुख्य व्यक्तिहरूको मात्र बयान लिन बाँकी छँदा राजश्व अनुसन्धानबाट सरुवा भएको थियो ।

श्रम मन्त्रालयबाट दहाललाई मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार विभागमा पठाएका थिए । तर उनै श्रममन्त्रीको स्वार्थ अनुसार दहालले काम नगरेपछि सरुवा गरेको बुझिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!