तिजको व्रत बस्दा ख्याल राखौँ

Posted on: 18 Sep, 2023

असोज १, काठमाडौँ | हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ । यस पर्वमा धेरै महिला व्रत बस्छन् । तर, व्रत बस्दा केही कुराको ख्याल गर्न जरुरी छ । 


यसरी व्रत बस्न सकिन्छ

स्वस्थ मानिसले अर्धव्रत अर्थात् एक छाक खाएर व्रत बस्न सकिन्छ । पूरै दिन व्रत बस्नु छ भने दूध, फलफूल र पानी प्रशस्तै पिउनुपर्छ । धर्म–संस्कृतिले पनि व्रतमा यी खाद्यान्न खानमा रोक लगाएको छैन । आफूलाई कुनै दीर्घरोग छैन भने व्रत बस्दा हुन्छ । तर, पानी नखाई कसैले पनि व्रत बस्नुहुँदैन । 

कसले नलिने व्रत ?

मुटु, मिर्गाैलालगायत दीर्घरोगको औषधि खाएका बिरामीले पनि व्रत बस्नु उपयुक्त हुँदैन । रगतको कमी भएका वा रगतसम्बन्धी समस्या देखिएका महिला तथा भर्खरै अपरेसन गरेकाहरूले पनि व्रत बस्नुहुँदैन । त्यसैगरी, गर्भवती र सुत्केरीले पनि व्रत बस्नुहुँदैन । सुत्केरीलाई क्यालोरीको आवश्यकता पर्छ । आफू मात्र नभई बच्चाका लागि पनि फिडिङ गर्नुपर्ने हुन्छ । त्यसैले सुत्केरीले पनि व्रत बस्नु उचित हुँदैन । 

मधुमेह  : मधुमेहको औषधि लिइरहेकाले व्रत बस्नु उचित हुँदैन । केही नखाँदा उनीहरू ढल्ने जोखिम हुन्छ । सुगर लो भयो भने पसिना आउने, मुटु  धड्किने, आँखा धमिलो हुन सक्छ । त्यसैले व्रत बस्नुहुँदैन । 

उच्च रक्तचाप :  उच्च रक्तचापको औषधि सेवन गरिरहेका महिलाले पनि केही नखाई व्रत बस्नुहुँदैन । निराहार व्रत बस्दा रिँगटा लाग्न सक्छ । रक्तचाप तल–माथि हुन सक्छ भने शरीरमा अक्सिजनको मात्रा पनि कम हुने सम्भावना हुन्छ ।यसैगरी, जसको रक्तचाप पहिल्यै लो छ, उनीहरूले केही पनि नखाई व्रत बस्दा शरीरमा नुनको मात्रा र जलवियोजन भएर अझै प्रेसर लो भएर ढल्ने सम्भावना हुन्छ । व्रत बसेर बढी नाच्ने, गाउने गर्दा नुनको मात्रा घट्ने हुँदा शरीरमा ब्लडप्रेसर घट्छ । यस्ता व्यक्तिले पनि व्रत बस्नु उचित हुँदैन । यस्तोमा कमजोरी महसुस भई रिँगटा लागेर बेहोससमेत हुन सकिन्छ । व्रतका क्रममा पानी, जुस, चिया, कफी एवं झोल खानेकुरा सेवन गर्न आवश्यक हुन्छ । 

ग्यास्ट्राइटिस : ग्यास्ट्राइटिसको समस्या भएकाले व्रत बस्दा समस्या उत्पन्न हुन सक्छ । खाना तीनदेखि चार घन्टामा पेटबाट सानो आन्द्रामा गएर पेट खाली हुन्छ । त्यसकारण यस्तो अवस्थामा निराहार व्रत बस्नु उचित हुँदैन । पेट खाली नराखी समय–समयमा चोखोनितो केही खाएर व्रत बस्नुपर्ने हुन्छ । 

थाइराइड :  थाइराइड भएका महिलाले व्रत बस्दा पर्याप्त मात्रामा पानी पिउनुपर्छ । थाइराडका बिरामीले पनि निराहार व्रत लिनुहुँदैन । किनभने, अघिल्लो दिन खाएको खानाले भोलिपल्टसम्म पुग्दैन । यस्ता बिरामीले पनि तीन–तीन घन्टाको अन्तरालमा फलफूल, जुस एवं पानी सेवन गरिरहनुपर्ने हुन्छ । 

क्यान्सर :  क्यान्सरका बिरामीले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधिले रोगप्रतिरोधक क्षमता कम गरिरहेको हुन्छ । त्यसैले क्यान्सरका बिरामीलाई पौष्टिक आहारको जरुरी हुन्छ । खाना नखाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्छ । त्यसैले क्यान्सरका बिरामीले व्रत बस्नुहुँदैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!