सेयर बजारमा हरियाली, ५ महिना यताकै उच्च कारोबार

Posted on: 27 Dec, 2022

पुस १२, काठमाडौँ । यो साताको दोस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजारको कारोबार उच्च अंकले बढेको छ। मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५९.८७ अंक बढेर १९८३.९५ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२८ अंकले बढेको छ।

मगंलबार कारोबारमा आएका २६१ कम्पनीको १ करोड २० लाख २९ हजार कित्ता सेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। सोमबार भने सेयर बजारमा २ अर्ब बराबरको कारोबार भएको थियो।

मगंलबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक ६.४३ प्रतिशत बढेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ।

मंगलबार ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ।  बैंकको २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!