बालेनद्वारा हरेक दिन मन्त्रीलाई एक ट्रक धुलो उपहार पठाउने घोषणा

Posted on: 25 May, 2024

जेठ १२, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हरेक दिन मन्त्रीलाई एक ट्रक धुलो उपहार पठाउने घोषणा गरेका छन् । सनिबार सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएर शाहले फेसबुक स्टाटस मार्फत हरेक दिन धुलो उपहार पठाउने घोषणा गरेका हुन् ।

मेयर शाहले चक्रपथको कलंकी- महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको स्टाटसमा उल्लेख गरेका छन् । उनले महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर थुपारिदिएका हुन् । 

मेयर बालेन शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको फेसबुकमा लेखेका छन् । महानगरले धुलो नियन्त्रणका लागि संघीय सरकारले सहयोग नगरेको कारण यो कदम चालिएको जनाएको छ । महानगरको ब्रुमरले बिहान धुलो सफा गरेपछि दिउँसो फेरी धुलो भइसक्ने भन्दै बिरोध स्वरूप त्यस्तो कम गर्न परेको जनाएको छ ।

बालेनले फेसबुक स्टाटसमा लेखेका छन् । 

'माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! 

तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर   स्विकार्नु होला ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!