सलमान निवासबाहिर गोली चलाएको प्रकरणः थप एक व्यक्ति पक्राउ

Posted on: 07 May, 2024

बैशाख २५,  काठमाडौँ । बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी पक्राउ परेका हुन् ।


मुम्बई क्राइम ब्रान्चको टोलीले मंगलबार राजस्थानबाट मोहम्मद रफिक चौधरीलाई पक्राउ गरेको हो । 

उनलाई मुम्बई ल्याएर फोर्ट कोर्टमा पेश गर्ने तयारी गरिएको प्रहरीको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चौधरीमाथि यस प्रकरणमा पक्राउ परेका दुई सूटर सागर पाल र विक्की गुप्तालाई पैसा उठाउन र सलमानको घरको रेकी गर्न सहयोग गरेको आरोप छ ।

अप्रिल १४ मा मुम्बईको बान्द्रास्थित सलमानको निवासअगाडि बिहान ५ बजे गोली चलाइएको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । घटना हुँदा सलमान आफ्नै घरमा थिए ।

यसैबीच गत बुधबार गोली चलाउनेलाई हतियार दिएको आरोप लागेका अनुज थापनले हिरासतमै आत्महत्या गरेका छन् ।

अभियुक्तले मुम्बई प्रहरी मुख्यालयको शौचालयमा एउटा पानासँग झुण्डिएर आत्महत्या गरेको दाबी छ । यस घटनाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ । 

घटनामा संलग्न अनुज र सुभाष चन्द्रलाई प्रहरीले अप्रिल २५ मा पक्राउ गरेको थियो । दुवैले धेरै वर्षदेखि मुख्य अभियुक्त लरेन्स बिश्नोईसँग काम गरिरहेको प्रहरीको दाबी छ । दुवैले यो घटनाका लागि हतियार उपलब्ध गराएको दाबीमा उल्लेख छ ।

सलमान विवादित अभिनेतामा पर्छन् । उनीमाथि कालो हरिणको शिकार गरेको तथा लापरबाहीपूर्व गाडी चलाएका सडक मानवलाई कुल्चिएर हत्या गरेको आरोप छ । यो प्रकरणमा उनी जेल पनि गइसकेका छन् । पछि भने अदालतबाट सफाइ पाएका छन् ।

यस्तै बलिउडमा सलमानका प्रेम प्रकरणदेखि लिएर विभिन्न व्यक्तिसँग झगडा गरेकासम्म विवाद छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!