बैशाख २३, काठमाडौँ । आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा पठाएपछि गायिका खेलप्रेमी गायिका रचना रिमालले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी छन् ।
उनले सन्दीपलाई मेन्सन गर्दै ‘दोषि भए कानुन अनुसार सजाय देउ, निर्दोष भए विश्वकप खेल्न देउ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी हुन् ।
सन्दीपको मुद्दामा उच्चले ढिलाइ गरिरहेका बेला रचनाले दोषी भए कानुन अनुसार सजाय दिन भनेकी छन् ।
रिमाल नेपाली क्रिकेट सधैँ फलो गरिरहेकी हुन्छिन् । टीयु र मुलपानीमा हुने प्रतियोगिताहरूमा प्रायः उनी दर्शकका रूपमा सहभागी हुने गरेकी छन् ।
अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको अन्तिम सूची सार्वजनिक भइसकेको अवस्थामा सन्दीपबारे रचनाको यस्तो भनाइ आएको हो ।
यदि उच्च अदालतले सन्दीपको मुद्दामा चाँडो फैसला दिए विश्वकप खेल्न सक्ने सम्भावना जीवितै छ । त्यसका लागि जिल्ला अदालतबाट दोषी ठहर सन्दीपलाई उच्च अदालतले निर्दोष रहेको फैसला दिनु पर्ने हुन्छ ।
आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो ।
अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!