भेलुबाजेलाई कुटपिट गरेको भन्दै टिकटकर गीता केसीविरुद्ध प्रहरीमा जाहेरी

Posted on: 03 May, 2024

बैशाख २१, काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल मीनबहादुर बुढा (भेलुबाजे) को मृत्यु कुटपिटबाट भएको भन्दै एक महिलाविरुद्ध जाहेरी दर्ता भएको छ । कुटपिटबाट उनको मृत्यु भएको भन्दै प्युठान नगरपालिका ८, बाग्दुलामा व्यवसाय गर्ने गीता केसीविरुद्ध ‘भेलुबाजे’ का आफन्तले जाहेरी दर्ता गराएका हुन् । गीता टिकटकरसमेत हुन् ।

ज्वाइँ हिमलाल पुनका अनुसार त्यस दिन गीता केसीले भेलुबाजेलाई कसैले पाँच हजार पठाएको भन्दै लिन बोलाएकी थिइन् । गीता र भेलुबाजे राति अबेरसम्म लाइभ बसेका थिए । त्यस क्रममा भेलुबाजेले सल्काएको चुरोटले ओछ्यान जलेपछि कुटपिट भएको उनको दाबी छ । आफूसँगको कुराकानीमा गीताले बाजेले ओछ्यान जलाइदिएपछि दुई/चार थप्पड लगाइदिएको स्वीकारेको समेत हिमलालको भनाइ छ ।


गीता केसी सक्रिय टिकटकर हुन् । उनले भेलुबाजेका थुप्रै टिकटक बनाएकी छन् भने भेलुबाजेसँग लाइभमा पनि बस्ने गरेकी थिइन् । प्युठान नगरपालिका-५ जुम्रिकाँढा घर भएका भेलुबाजेको बिहीबार बेलुका प्युठान अस्पतालमा मृत्यु भएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई दिउँसो १ बजे अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जाहेरी आएको पुष्टि गरे ।

‘कुटपिट गरेर मृत्यु भएको भनेर जाहेरी परेको छ । हामीले दर्ता पनि गरेका छौँ । यस विषयमा अनुसन्धान बढी बढाएका छौँ,’ उनले भने ।

शव जिल्ला अस्पताल विजुवारमा राखिएको छ । मृतकका आफन्तले घटनाको अनुसन्धान र शवको पोष्टमार्टम गर्न माग गरेका छन् । जाहेरी लिएपछि पोष्टमार्टम लागि प्रक्रिया अघि बढेको ज्वाइँ हिमलालले बताए । प्यूठान अस्पतालकी सूचना अधिकारी सम्झना श्रेष्ठले भेलुबाजेको शरीरको बाहिरी भागमा ठूलो घाउ नदेखिएको बताइन् ।

‘बाहिरबाट हेर्दा सामान्य नै देखिन्छ । सानो डामहरू त देखिन्थ्यो । तर, त्यति ठूलो चोटहरु त देखिएको छ । अब अन्य कुरा त पोस्टमार्टमबाट थाहा होला,’ उनले भनिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!