वेस्ट इन्डिजका खेलाडीले भने- धुलोले गर्दा मैदानमा मास्क लगाएका हौं

Posted on: 01 May, 2024

वैशाख १९,  काठमाडौँ ।  वेस्ट इन्डिज क्रिकेट टीमका केही खेलाडीले आज मैदानमा नै मास्क लगाएर खेलिरहेको दृष्य चर्चामा छ । यसले नेपालको प्रदुषण अवस्थाबारे अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाने खतरासमेत धेरैले औंल्याएका छन् ।

आज खेलपछि वेस्ट इन्डिजका खेलाडी एन्ड्रे फ्लेचरलाई पत्रकारले मास्क लगाउनुको कारणबारे सोधेका थिए । उनले धुलोका कारण केही खेलाडीले मास्क लगाएको बताए ।

‘(हाँस्दै) इमान्दारितापूर्वक भन्नुपर्दा आज निकै धुलो थियो । त्यसको सामना गर्नलाई हो । हामीले जस्तो परिस्थितिमा पनि खेल्नुपर्छ’, उनले भने । नेपालको मौसममा पनि आफूहरु अभ्यस्त भइनसकेको उनले बताए ।

‘यो देश समुद्र सतहभन्दा धेरै माथि छ । त्यसैले केही खेलाडीहरुलाई अलिकति कठिनाइ भएको छ । हामी यहाँ अभ्यस्त हुँदै जाँदा अझै राम्रो खेल्नेछौं । हामीले कहिलेकाहीँ आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनु पर्छ । नेपालमा हामीले धेरै राम्रा कुराहरु पनि देख्यौं । मानिसहरु निकै असल छन् । हामी इन्जोइ गरिरहेका छौं’, उनले भने ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!