गृहमन्त्रीको निर्देशनमा डिल्लीराम खनाल पक्राउ

Posted on: 02 May, 2024

बैसाख २०, काठमाडौँ । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भएको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

खनालले जीबी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए । अन्तरवार्ताको क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको स्रोतको दाबी छ ।


उनले झुठा कुरा फैलाएको आरोप  छ । उनीबिरुद्ध विद्युतीय अपराधअन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनको पक्राउलाई लिएर कतिपयले भने आपत्ति जनाएका छन् । उनीहरु भन्छन्, ‘जीवी राईको ‘हत्या’भएको कुरो झुटो भए प्रहरीले जीवितै सार्वजनिक गर्नुपर्छ । नभए किन पक्राउ गरियो ?’

डिल्लीराम खनालले भनेका थिए, ‘‘हिजो नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा रवीले म गृहमन्त्री भए २४ घण्टाभित्र पक्राउ गरेर ल्याउँछु भनेका थिए । अहिले किन पक्राउ गरेनन् त ? जिउँदो भए त पक्राउ गरेर ल्याउँथे नि । रविले आफ्नो पोल खुल्छ भनेर मारेर कुन नालीमा फाल्दिसके ।’’

खनाल यसअघि पनि साइबर क्राईमकै मुद्दामा दुई पटक पक्राउ परिसकेका थिए ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!