देशभर चिसो बढेसँगै जुम्लाको तापक्रम माइनस दुई पुग्यो, सतर्कता अपनाउन आग्रह​

Posted on: 25 Dec, 2023

पुस ९, काठमाडौँ | देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरे।


अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।

‘पश्चिमी वायुको आंशिक प्रभाव छ । केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन’, मौसमविद् पुडासैनीले भने । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाको विवरणमा बिहान तराईका विराटनगर, जनकपुर र भैरहवामा बाक्लो हुस्सु/कुइरो लागेको थियो । आज काठमाडौंको न्यूनतम् तापक्रम पाँच दशमलव  चार र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको छ । तापक्रम घटेकाले काठमाडौंमा अत्यधिक चिसो बढेको छ ।

दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव आठ डिग्रिसेल्सियस तापक्रम मापन गरिएको महाशाखाले उल्लेख गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!