साउन २७, काठमाडौं | साउन ९ गते जहाज दुर्घटनपछि उडान बन्द भएको सौर्य एयरलाइन्सको उडानै अनिश्चित हुने गरी अर्को झट्का लागेको छ । यो वायुसेवाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वायुसेवा सञ्चालन इजाजतपत्र (लाइसेन्स)को अवधि सकिएसँगै सौर्यको उडान अनिश्चितकालका लागि बन्द भएको छ ।
यसको उडान अवधि सकिनु १६ दिन अगाडि मात्रै दुर्घटनामा परेर उडान बन्द भएको यो वायुसेवाको २५ साउनदेखि लाइसेन्सको अवधिसमेत सकिएको छ । पर्यटन मन्त्रालयबाट हरेक ५ वर्षमा नवीकरण गराउनुपर्ने लाइसेन्सको अवधि सकिएको यो वायुसेवाले पर्यटन मन्त्रालयमा लाइसेन्स नवीकरणको लागि आवेदन भने दिइसकेको छ ।
मन्त्रालयले इजाजतपत्रको अवधि नवीकरणका लागि यसको बक्यौता रहे नरहेको, जहाज उडान योग्य भए नभएको र उडान अनुमति नवीकरण गर्ने विषयमा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सुझाव मागेको छ ।
पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणको सुझावपछि मात्रै यसको इजातपत्रको नवीकरण हुने भएको छ । यसका लागि पर्यटन मन्त्रालयले उड्डयन प्राधिकरणको राय मागेको र उक्त राय आएपछि मात्रै इजाजतपत्र नवीकरणको प्रक्रिया अगाडि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
एकातर्फ जहाज दुर्घटनाबाट उच्च व्यवस्थापनका ४ जनासहितका १८ जना जनाको ज्यान गुमेको पीडामा वायुसेवा छ भने अर्कोतर्फ वायुसेवा सञ्चालनको इजाजतपत्र नै नभएका कारण यो वायुसेवालाई उडान पुनः उडान सञ्चालनमै समस्या भएको छ।
इजाजतपत्रको अवधि सकिएपछि उडान गर्न नपाउने भएकोले त्यसअघि नै इजाजतपत्र नवीकरण गराइसक्नु पर्नेथियो । तर, कम्पनीले समयमा नै इजाजतपत्रको नवीकरण गराउन सकेन । यसैबीचमा जहाज दुर्घटनाको कारण सौर्यले थप ठूलो क्षति व्यहोरेको छ।
सीआरजे नामक ३ वटा वायुसेवा मात्रै भएको सौर्यको एउटा जहाज दुर्घटनापछि अब दुईवटा जहाज बाँकी छन् । यी दुईवटा पनि एउटा मात्रै जहाज उडानयोग्य भएकोले पनि सौर्यलाई पुनः उडान गर्न समस्या छ ।
एकातिर आर्थिक समस्यामा वायुसेवा परेको छ भने अर्कोतर्फ ५ वर्षभित्रमा ५ जहाज पुर्याउनुर्ने नियम उड्डयन प्राधिकरणले ल्याएको छ । भएका जहाज उडाउँदै आन्तरिक व्यवस्थापन मिलाउन खोजेपनि यसलाई इजाजत पत्र नवीकरण नहुँदा समस्या भएको छ ।
नियमित उडानको वायुसेवा कम्पनी सौर्यले सीआरजे जहाजमार्फत काठमाडौंबाट विभिन्न सहरी क्षेत्रका विमानस्थलमा सेड्युल उडान गर्छ । यो भद्रपुर, भैरहवा, विराटनगर, धनगढी र पोखरामा उडान गर्ने गरेको भएपनि पछिल्लोसमय काठमाडौंबाट विराटनगर र भद्रपुर मात्रै उडान गर्दै आएको थियो । यो वायुसेवासँग हाल ५० सिट क्षमताको सीआरजे २०० नामक एउटा मात्रै जहाज भएकोले यसका उडान गन्तव्य सीमित छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानन्द्र भुलले सौर्यमा कर्मचारी नभएको र जिम्मेवारी कर्मचारी नभएसम्म कम्पनीको उडान सञ्चालन अनुमति (एओसी) निलम्बनजस्तै अवस्थामा रहेको बताए । सौर्यले जहाज उडानमा जिम्मेवार कर्मचारी पूर्ति गर्न नसकेसम्म उडान अनुमति पनि नपाउने भुलको भनाइ छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!